अष्टाङ्ग योग का सम्बन्धमा लेखिएको पहिलो आधिकारिक ग्रन्थ पतञ्जली योग-सुत्र हो । योगश्चित्तबृत्ति निरोध भनेर यसमा योगलाई चित्तबृत्तिबाट निरोधको अवस्था भनेको छ । अष्टाङ्ग योग का बिभिन्न आठ चरण पार गरेर त्यो अवस्था हासिल गर्न सकिन्छ भन्ने बैज्ञानिक ब्याख्या छ त्यहाॅ ।

१. यम: अष्टाङ्ग योग पहिलो चरण 

अष्टाङ्ग योग को पहिलो पाइला यम हो । यम भनेको नैतिकता हो । आफुलाई नैतिक बलमा जागृत बनाउनु यसको उद्देश्य हो । नैतिकता सफल जीवनको पहिलो आधार हो । त्यसैले पतञ्जलीले यसलाई सुरूमा नै राख्नुभयो । नैतिकताको अभ्यासबाट नै योगको बाटो सुरू हुन्छ ।
बैज्ञानिकहरूले पनि नैतिकवान ब्यक्तिलाई कम मानसिक समस्या हुने कुरा प्रमाणित गरेका छन् । सफलताको नियमको आधार पनि नैतिकता नै हो । पतञ्जलीले नैतिकतालाई पनि बिभिन्न पाॅच भागमा बिभाजन गरेका छन् । ती निम्न छन्:

1 अहिंसा
2 सत्य
3 अस्तेय
4 ब्रम्हचर्य
5 अपरिग्रह

● अहिंसा

हिंसा तीन प्रकारका हुन्छन्
♢ कायीक: भौतिक शरीरद्वारा अरूलाई चोट पु-याउनु ।
♢ बाचिक: बोलेर अरूलाई चोट पु-याउनु ।
♢ मानसिक: कसैको बारेमा अहित सोच्नु या अरूलाई चोट परोस् भनेर कामना गर्नु ।
यी तीनै हिंसा नगर्नु अहिंसा हो । बुद्धको मुख्य उपदेश पनि यही हो । अरूलाई चोट पु-याउने उद्देश्यले कुनै कार्य गर्नु हुॅदैन । यदि नजानेर चोट पुगेको छ भने माफी माग्नुपर्छ । यदि सीधै गएर माफी माग्न गाह्रो हुन्छ भने मनमनमा माफी माग्नुपर्छ ।
अहिले अमेरिका र युरोपलगायत बिकसित देशहरूमा एउटा नयाॅ ब्यबसायिक अभियान सुरू भएको छ । त्यो पनि अहिंसाको ब्यबहारिक प्रयोग हो । Win-win Theory. दुबै पक्षको हीतका लागि काम गर्ने । सफलताका गुरूहरूले पनि सफलताको एउटा अत्यन्तै महत्वपूर्ण पाइलाका रूपमा यो सिद्दान्तलाई लिएका छन् । अरूलाई हित गरियो भने स्वतः आफ्नो हीत हुन्छ भन्ने सिद्दान्त पश्चिमा ब्यबसायमा फस्टाउॅदै गएको छ । अरूलाई दुःख पु-याएर प्रप्त गरेको सफलता क्षणिक हुन्छ यो संसारमा पनि । त्यो कुरालाई युरोपियनले अहिले बुझ्दैछन् जुन कुरा हजारौं बर्ष पहिले पूर्बमा बिकास भएको थियो ।

● सत्य

सत्य भन्ने शब्द धेरै सुनिएको शब्द हो । तर, यसको अर्थमा भने अलि स्पष्ट नभएझैं लाग्छ । सत्य आफुप्रतिको इमान्दारिता र अरूप्रतिको इमान्दारिताको जोड हो । सत्यले सॅधै खुसी ल्याउॅछ यदी ल्याएन भने त्यहाॅ कतै गडबड छ भन्ने बुझ्नुपर्छ । गान्धीले सत्यमा रहेर अहिंसात्मक आन्दोलन चलाए । मार्टिन लुथर किंग र नेल्सन मण्डेलाले पनि सत्यको ब्यबहारिक प्रयोग गरे ।
हाम्रो जीवनमा सत्यको ठूलो महत्व छ । सत्यमा अडिग रहने मान्छे स्वाभिमानी हुन्छ । सत्य जीवनको पहिलो आधार हो भन्ने कुरा संसारका धनी ब्यक्तिहरूको जीवनी पढेर प्रष्ट हुन सकिन्छ ।
यदी हामी अरूसॅग सत्य देखिन खोज्ने र आफुभित्र सत्यता नहुने हो भने त्यस्तो अवस्था देखावटी हुन सक्छ ।

● अस्तेय

चोरी नगर्नु तथा चोरी गर्ने प्रबृत्तिको नहुनु नै अस्तेय हो ।

● ब्रह्मचर्य

ब्रह्मचर्यका दुई पाटा छन्
♢ ब्रह्म ज्ञानमा आफुलाई लगाउनु । ब्रह्म ज्ञानप्रतिको चासो हुनु ।
♢ ईन्द्रियजनित अथवा ईन्द्रियबाट प्राप्त हुने क्षणिक सुखलाई नियन्त्रण गर्नु वा त्यसलाई बुझेर त्यतातिरको ध्यान कम गर्नु ।

● अपरिग्रह

आफुलाई आवस्यक पर्ने कुराहरूको मात्र संकलन गर्नु । कुरा आवस्यक नै छैन भने त्यसको संग्रह गर्नु ठीक होइन । एक भए पुग्छ भने दुई चाॅहिदैन । दुई भए पुग्छ भने तीन चाॅहिदैन । तीन भए पुग्छ भने चार चाॅहिदैन । अरूको सामानको ईच्छा नगर्नु पनि अपरिग्रह हो । आफुसॅग जे छ त्यसमा सन्तुष्ट हुन सक्नु र आफुसॅग छ भन्दैमा अनावश्यक सामानहरूको संग्रह नगर्नु नै अपरिग्रह हो । आफुसॅग बढी भएको कुरा अरू कसैसॅग छैन भने त्यो अरूलाई दिनु पनि हाम्रो कर्तब्य हो ।

२. नियम : अष्टाङ्ग योग दोश्रो चरण

पतञ्जली योगसूत्रको दोस्रो सूत्र हो नियम । यम भनेको सामाजिक नैतिकता हो भने नियम भनेको व्यक्तिगत नैतिकता हो । यसअन्तर्गत पाॅचवटा नियम पर्दछन् ।
(क) शौच – शरीर र मन की शुद्धि नै शौच हो ।
(ख) संतोष – सन्तुष्ट र प्रसन्न रहनु नै सन्तोष हो ।
(ग) तप – स्वयंलाई आत्मानुशासनमा राख्नु नै तप हो । जसरी पनि आफ्नो साधनालाई जारी राख्छु भन्ने संकल्प हो तप ।
(घ) स्वाध्याय – आत्मचिन्तन गर्नु । अध्ययन गर्नु र ज्ञान सुन्नु ।
(च) ईश्वर-प्रणिधान – ईश्वरप्रति पूर्ण समर्पण, पूर्ण श्रद्धासहित ढुक्कका साथ बाॅच्नु । ईश्वरप्रति पूर्ण बिश्वास हुनु ।

३. आसन : अष्टाङ्ग योग तेश्रो चरण

सामान्यतया हामीले योगासनलाई नै सम्पूर्ण योग ठान्छौं । तर योगाआसन योगको एउटा पाटो हो । योगले हामीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्छ । स्मरण शक्ति बढाउने र दिनभरि जागरूक बनाउॅछ आसनले । आसनले हामीमा आत्मबिश्वास जगाउनुका साथै स्वाभिमानी पनि बनाउॅछ ।

४. प्राणायाम : अष्टाङ्ग योग चौथो चरण

यो श्वास लिने खास तरिका हो । स्वासद्वारा हाम्रा कोषहरूमा अक्सिजन बृद्धि गरेर प्राणायामले मानसिक तथा शारीरिक रूपमा स्वस्थ बनाउॅछ । यसले शरीरका बिकार हटाएर शरीर, मन र प्राणलाई शुद्ध पार्छ ।

५. प्रत्याहार : अष्टाङ्ग योग पाचौं चरण

इन्द्रियलाई नियन्त्रण गर्नु । अरू बाहिरी आकर्षणबाट आफुलाई पर राख्नु । बाहिरी आकर्षण क्षणिक हो भन्ने बुझ्नु । चित्तलाई ईश्वर स्मरणमा लगाउने हरसम्भव प्रयास गर्नु । सानासाना लोभमा नफस्नु ।

६. धारणा : अष्टाङ्ग योग छैटौं चरण

एकाग्रचित्त हुनु । चित्तलाई एकाग्र बनाएर एउटै सहज आसनमा बस्नु । सामान्तया हामीले जसलाई ध्यान भन्छौं त्यो धारणा हो । योग गुरूहरूले सिकाउने ध्यान नै धारणा भनेर बुझ्नुपर्छ । ध्यान त सिकाउनै मिल्दैन त्यो घट्ने कुरा हो ।

७. ध्यान : अष्टाङ्ग योग सातौं चरण

धारणामा आफुलाई स्थीर गराउॅदै जाॅदा ध्यान घट्छ । ध्यान घट्दा हामीलाई चरम आनन्दको अनुभूति हुन्छ । ध्यान घटिसकेपछि हामी निरन्तर रूपमा अगाडि बढ्नुपर्छ । ध्यान घटेपछि साधकलाई अध्यात्मको रस लाग्न सुरू गर्छ र उसले त्योभन्दा आनन्दको क्षण अरू कुनै पनि अनुअव गरेको हुॅदैन । त्यसपछि सबै शास्त्र ठीक रहेछन् भन्ने महसुस गर्न थाल्छ । उसको आॅखाको हेराइमा अनौठो परिवर्तन हुन्छ । आफु र अरूमा उसले फरक देख्दैन । हरेक घटनामा धन्यबादी हुन्छ । जीवनलाई उत्सव ठानेर बाॅच्छ । जीवनको सार्थकता अनुभूति गर्छ ।

८. समाधि : अष्टाङ्ग योग आठौं चरण

आत्मासॅग जोडिनु । शब्दले ब्याख्या गर्न नसकिने परम-चैतन्यको अवस्था हो यो । समाधी दुई किसिमका हुन्छन् ।
क) सबिकल्प समाधि: केही समयका लागि समाधिमा जाने र फेरि समाधिबाट बाहिर आउने अवस्था हो यो ।
ख) निर्बिकल्प समाधि: निरन्तर समाधिमा स्थित रहने अवस्था ।

ऋषिराम पाण्डेय

error: Content is protected !!
Yoga Teacher Training Nepal

Subscribe To Our Newsletter

Join our mailing list to receive the latest news, posts and updates from our team. You can mail to nepalyogahome@gmail.com to take part internationally certified yoga teacher training and other yoga retreats at our school

You have Successfully Subscribed!

Pin It on Pinterest

Share This